Bhairab aryal biography of christopher
व्यास बाजेले अठार पुराण लेखे, तर सबभन्दा जरुरी एउटा पुराणचाहिं लेख्न भुसुक्कै बिर्सेछन्। वेदव्यासको युगमा बिर्सेको कुरो आज वेदनाशको युगमा तैंले कसरी सम्झिस्? भन्नुहोला, मलाई पनि हिजै मात्र आफ्नी बुढी आमाले झट्ट सम्झाइदिइन्। साथै यस पुराणको माहात्म्य पनि मैले उनैबाट दृष्टान्तसहित बुझ्ने मौका पाएकोले अरु पुराणको प्रारम्भमा ‘शारदायै नम:’ भनेजस्तै पुराणको सुरुमा म भन्दछु – बूढी आमायै नम:।
यसैले ज्ञानमा जति गढे पनि, विज्ञानमा जति बढे पनि, विद्यामा जति पढे पनि, बुद्धि जति जडे पनि आखिर सबै चुलिंदै गई ‘ओं’ बन्छ भनी ऋषिहरु भन्थे, तर मलाई लाग्छ- त्यो अक्षर ‘ओं’ होइन ‘आँ’ बन्छ। यसकारण प्रत्येक बिहानै ‘कुखुरी काँ’को साथै प्रत्येक घरका केटाकेटीहरु मुख बाइहाल्छन्- ‘आँ’! अनि रातोरातो जल र मीठो पीठो जेजति पाइन्छ नैवेद्य चढाउँदै भुँडीपूजाको कार्यक्रम सुरु गर्नुपर्छ। घरमा होस् कि होटलमा होस्, ब्यारेकमा होस् कि होस्टेलमा होस्, ट्रेनमा होस् कि प्लेनमा होस्, बाटैमा होस् कि घाटैमा होस्, आखिर जहाँ भए पनि हातमुख जोर्दै सम्झनुपर्छ-
“नमो देव्यै पेट देव्यै सर्व देव्यै तथेव च। आन्द्रा आन्द्री समेतायै भुँडी देव्यै नमो नम:॥”
त्यसैले त भनेको, प्रत्येक प्राणीमा भुँडीदेवताको अंश हुन्छ। अर्को शब्दमा प्रत्येक भुँडी मिलेर देश वा समाजको विशाल भुँडी बन्छ र विशाल-विशाल पनि जुट्दा भुँडीको विराट् रूप बोध हुन्छ। उस्तै र उत्रै भए पनि प्रत्येक भुँडीको बेग्लै आयतन हुन्छ र नैवेद्य ग्रहणका तरिकाहगरु विभिन्न किसिमका हुन्छन्।
यस दृष्टिले हेर्ने हो भने भुँडीलाई मुख्यत: चार भागमा वर्गीकरण गर्न सकिन्छ।
सबलाई थाहा छ- बीसौं शताब्दीको विराट् भुँडीले सुरसाको मुख बनाएको छ। मान्छे हनुमानझैं आकाशपाताल चहारेर कति नै ठूलो आङ फुलाओस् भुँडीको बढ्दो आयतनको अनुपातमा उसको शक्तिसामर्थ्य हात्तीको मुखमा जीरा हुन्छ। कसलाई थाहा छैन र? भुँडीको लागि समुद्र तरेका भारतीयहरु भुँडीकै भाग नपुगी लङ्काबाट लर्काइँदै छन् भने भुँडीकै पिरलोले जुगजुगदेखि ‘ब्रह्माको मुलुक’ पसेका नेपालीहरु भूँडीकै समस्याले बर्माबाट फर्काइँदै छन्।
मैले यो भुँडीपुराण पनि भुँडीदेवीकै उपासनाको लागि लेखेको हुँ। जुन दिन भूमिसुधारको महामेला सकिएर खोजेजस्तै गरी सबैले भुँडीपूजाको सौभाग्य पाउलान्, त्यसै दिन व्यास बाजेका अठार पुराणमा उन्नाइसौं महापुराणको रुपमा मेरो भुँडीपुराण कसो नजोडिएला त?